“उच्च शिक्षाको गुणस्तर वृद्धिका लागि उपकुलपतिहरूको सम्मेलन सम्पन्न”


लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा चैत्र २० र २१ गते अन्तर्राष्ट्रिय उपकुलपति तथा १८ औँ न्युज (पूर्व, पश्चिम, उत्तर, दक्षिण)सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीज्यू, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमज्यू, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यज्यू लगायत नेपाल र भारतका गरी १४ जना उपकुलपति एवं पूर्व उपकुलपतिज्यूहरूले उच्च शिक्षामा नैतिक नेतृत्वको विकास गर्दै प्रविधि र एआईको उपयोगद्वारा शैक्षिक उत्कृष्टता कायम गर्ने तथा समावेशी र पहुँचयोग्य शिक्षाको सुनिश्चितता गर्ने प्रतिबद्धता सहित घोषणा पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

घोषणा पत्रमा बजारमुखी र नैतिकतामा आधारित पाठ्यक्रमको विकास गर्नका लागि पूर्वीय दर्शन र नैतिक सिद्धान्तलाई सबै विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्ने उल्लेख गरिएको छ । साथै उपकुलपतिज्यूहरूले तार्किक नक्साङ्कन, मानव संशाधनको पूर्वानुमान गरी आवश्यकताका आधारमा मात्रै विश्वविद्यालय स्थापना गर्न सुझाव दिएका छन् ।

उक्त सम्मेलनमा १५ भन्दा बढी अनुसन्धानपत्रहरु प्रस्तुत गरिएका थिए भने उच्चस्तरीय प्यानल छलफल र संगोष्ठीहरू संचालन भएका थिए । कार्यक्रमको उद्घाटन सत्रमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देव राज अधिकारीज्यूले उच्च शिक्षामा नवीनता र सहकार्यको आवश्यकता रहेको औंल्याउनुभएको थियो । दुई दिने सम्मेलनमा नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस्, म्यानमार, श्रीलङ्का, थाइल्यान्ड र भियतनामका विज्ञ तथा अध्येताहरू गरी २०० जनाको सहभागिता रहेको थियो।